आईसीसी विश्वकप छनोट : वेष्ट ईण्डिजसँग नेपाल १०१ रनले पराजित



काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल वेष्ट ईण्डिजसँग पराजित भएको छ । जिम्बाब्वेको हरारेमा भएको खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

वेष्ट ईण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धसतकीय पारी खेले भने टोलीलाई जित दिलाउन भने सकेनन् । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि आरिफले गुल्शन झासँग ६८ रनको साझेदारी गरे । गुल्शनले ४२ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित कुमार पौडेलले ३० रन बनाउँदा आसिफ शेखले २८ तथा दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएर आउट भए । अन्तिममा करण केसीले २७ बलमा २८ रन बनाए । वेष्ट ईण्डिजका जेसन होल्डरले ३ विकेट लिए । यस्तै अल्जारी जोसेफ, अकिल होसेन र किमो पौलले समान दुई दुई विकेट लिए ।


यसअघि टस हारेर ब्यटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो । वेष्ट ईण्डिजका कप्तान साई होप र निकोलस पुरनले सतकीय पारी खेले । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै पुरनले ९४ बलमा ११५ रन बनाए । उनले १० चौका र ४ छक्का प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चार्ल्सलाई आउट गराएका थिए ।

तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो । तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै रोभमन पावेलले १४ बलमा २९ रन तथा जेसन होल्डरले १६ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

योसँगै नेपाल तीन खेलमा दुई हार र एक जितसहित अंक तालिकाको चौथा स्थानमा झरेको छ । रन रेटेका आधारमा नेदरल्यान्ड्स नेपालभन्दा अगाडी रहेको छ । अब नेपालले सुपर सिक्समा पुग्नको लागि नेदरल्यान्ड्ससँगको अन्तिम खेल जित्नै पर्ने भएको छ भने नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।