सीमामा वन र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा जोड



धनगढी । नेपाल–भारत सीमावर्ती जिल्लाका वन अधिकृतको धनगढीमा भएको अन्तरक्रियामा सीमा क्षेत्रमा वन तथा वन्यजन्तुको संरक्षणमा लाग्नुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै गएका मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न आपसमा सहकार्य गर्नुपर्नेमा छलफलका सहभागीले जोड दिए ।

पछिल्लो समयमा कैलाली कञ्चनपुरको दक्षिणतर्फ रहेको भारतको दुदुवा राष्ट्रिय निकुञ्ज र कैलालीको मोहना करिडोरलगायतका वन क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दा मानव र वन्यजन्तुको द्वन्द्व पनि बढेको देखिएको छ । केही महिनाअघि बाघको आक्रमणबाट कञ्चनपुरमा दुई नेपाली र सीमापारिको दुदुवा राष्ट्रिय निकुञ्जमा एकजना भारतीयको मृत्यु भएको थियो ।


कञ्चनपुरको बेलौरी नजिकको झाडीमा घाँस काट्न गएकी एक महिलालाई आक्रमण गर्ने नरभक्षी बाघलाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिई जावलाखेलस्थित चिडियाखाना लगेको थियो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले पछिल्लो समय सीमा क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दा यसको न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाई अघि बढ्ने समझदारी दुवै देशका वन अधिकारीबीच बनेको बताए । उनले वन्यजन्तुको बासस्थान मासिँदै जाने अवस्था आउँदा वन्यजन्तु ग्रामीण क्षेत्रमा पस्न थालेपछि समस्या बढेको बताए ।

छलफलमा भारतीय दुदुवा टाइगर रिजर्भका सहायक निर्देशक रेङ्गाराजु टी, गोकुल, सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण भट्ट, डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत तिवारी र डिभिजन वन कार्यालय कैलालीको अधिकृत केशव पराजुली, गोकुल रिजाल, दिनेश यादव, सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारीलगायत सहभागी थिए ।