काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए ।
उनलाई सोमबार राति नै नेपाल ल्याइएको बताइएको छ । २०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको हो । सर्वसाधारणले जम्मा गरेका १४ अर्बभन्दा बढी रुपैयाँ हिनामिना भएको पीडितहरुले बताएका छन् ।