संसद्को भित्ते नक्सालाई राजनीतिक विषय बनाइनुहुँदैन : भारतीय विदेशमन्त्री



काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उाले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् । उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।


यो राजनीतिक विषय बन्न नहुने बताउँदै र छिमेकी मित्र मुलुकहरूले यो विषयका बारेमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै उनले छिमेकी मुलुकहरूलाई स्पष्टिकरण चाहियो भने पनि त्यो ठूलो कुरा नभएको धारणा व्यक्त गरे ।

सो चित्रबारे नेपाललगायत छिमेकी राष्ट्रहरूले आपत्ति जनाएको प्रति पत्रकारहरूले गरेको प्रश्नमा मन्त्री जयशंकरले भने, ‘यसबारे हाम्रो प्रवक्ताले यसअघि पनि स्पष्टीकरण दिइसक्नुभएको छ । भित्ते चित्रको तल पट्टी साइनबोर्डमा हेर्नुभयो भने अशोक साम्राज्य र उनले अवलम्बन गरेको जनताकेन्द्रित शासनको व्याख्या गरिएको छ । यसलाई राजनीतिक विषय बनाउनुहुन्छ भन्ने मलाई लाग्दैन । हाम्रा मित्र राष्ट्रहरूले यसलाई बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ । यदि उहाँहरूले केही स्पष्टीकरण खोज्नुभएको छ भने त्यसमा केही ठुलो कुरा छैन ।’