विश्वविद्यालय स्थापना कार्यलाई शीघ्रता दिन आग्रह



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले गेटा मेडिकल कलेजलाई अस्पतालसहित स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रका रुपमा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना कार्यमा शीघ्रता दिन नेपाल सरकारसँग अनुरोध गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा विश्वविद्यालय विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने भनी उल्लेख भएकामा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिङ्गो मुलुकको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रका रुपमा विकास हुनुपर्छ भन्ने सबैको चाहना रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा प्रदेशवासीको चाहना र आवश्यकता पूरा गर्न÷गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

कैलालीको गेटामा निर्माण कार्य पूरा भइसकेको मेडिकल कलेज सञ्चालनको प्रारुपका बारेमा नेपाल सरकार र मन्त्रिपरिषद्ले गरेको निर्णय र बजेट कार्यक्रमा फरकफरक नाम आएपछि स्थानीयवासीको असन्तुष्टि बढेको छ । योसँगै गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै प्रारुपमा सञ्चालन गर्न माग गर्दै केही दिनदेखि दबाबमूलक सङ्घर्षका कार्यक्रम भइरहेका छन् ।