ललिता निवास प्रकरण : गुरुङको नाममा मात्रै २९ रोपनीभन्दा धेरै जग्गा



काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले गुरुङसहित चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।


सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार अहिले गुरुङसहित रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको छ ।

ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे ।

‘मीनबहादुर गुरुङको नाममा २९ रोपनी प्लस जग्गा छ, उहाँलगायत उहाँका परिवारसँग रहेको देखिन्छ ।’ पत्रकार सम्मेलनमा उनले भने । अरु केहीको नाममा २/४ रोपनी र अन्य केहीको नाममा १/२ रोपनी जग्गा रहेको उनको भनाइ छ ।