काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिष्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ ।
‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिष्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’