राष्ट्रियसभा बैठक : बजेटमा छुटेका विषय सम्बोधन गर्न माग



काठमाडौँ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा विसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गरे ।


सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताए। सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याए ।

त्यस्तै सांसद गंगाकुमारी बेलबासेले समय सान्दर्भिक बजेटले अहिलेको आर्थिक संकटलाई समाधान गरेर मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।