यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई



काठमाडौँ । फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।  उरुग्वेको यो पहिलो यू–२० विश्वकप उपाधि हो ।

अर्जेन्टिनामा आज बिहान भएको फाइनल खेलमा इटलीलाई १–० गोलले हराउँदै उरुग्वेले उपाधि जितेको हो । 


उरुग्वेका लुसियानो रोड्रिगेजले एक गोल गरेका थिए । निकै रोचक र प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर खेलको ८६औँ मिनेटमा रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई उपाधि दिलाए । 

उरुग्वे यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न पाएको थिएन । उरुग्वेको जितसँगै पहिलो पटक यू २० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सीमित भएको छ ।

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि प्राप्त गर्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।