![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
तनहुँ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो ।
जथाभावी रुपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौ ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि जथाभावी रुपमा फोहर नफाल्न यातायात समितिमार्फत् जानकारी गराउन निर्देशन दिइएको उनले बताए । जथाभावी रुपमा अटेर गरी फोहर फालेमा पहिलो पटक रु तीन हजार र दोस्रो पटक रु सात हजारसम्म जरीवाना गरिने उनले जानकारी दिए ।
नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो ।
नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापन सम्बन्धि सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य मुख्य भागमा जथाभावी फोहर नफालौ, फोहर फालेमा हुने कानूनी कारवाही लगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।
व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिहरुलाई जरीवाना गरिने उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिहरुलाई पहिलो पटक रु तीन हजार जरीवाना, दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरीवाना र फोहरमैला उठाउँदा लाग्ने खर्च समेत निजबाट असुल उपर गरिने जनाइएको छ ।
साथै जथाभावी चोक चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । उनले भने, “जथाभावी रुपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौ । यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौ ।”
व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।
स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाई केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेपनि उक्त प्रयास सफल हुन सकिरहेको छैन ।
व्यास नगरपालिकाले हाल वडा नम्बर १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ । यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेंमा फोहर फाल्दै आएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)