यस्तो छ कोशीको नीति तथा कार्यक्रम (पूर्णपाठ)



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने उल्लेख गरिएको छ ।


त्यस्तै प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कार्यान्वयन गरिने, स्थानीय तहका स्वीकृत रिक्त दरवन्दीमा कर्मचारी पदपूर्ति प्रणालीलाई छिटो, छरितो, गुणस्तरीय बनाउन कानूनी र संरचनागत सुधार गर्दे लैजाने पनि कोशी सरकारको नीति छ ।

प्रदेश सरकारले विगतका कतिपय कार्यक्रमलाई निरन्तरता दिएको छ । केही नयाँ कार्यक्रम थप गरेको छ । सरकारले उल्लेख्य रूपमा रोजगारी बढाउन स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिने, प्रदेश गौरवको आयोजना पहिचान गर्ने, गरिबी निवारणका उपायको अध्ययन गर्ने र दीर्घकालीन महत्त्वका योजनालाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेश लगानी सम्मेलन आयोजना गर्ने, कानुन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गर्न प्रदेश सभालाई थप सक्रिय बनाउने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयन गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन भई प्रतिवेदनमा औँल्याइएका सुझावलाई कर्यान्वयनमा लग्ने उल्लेख छ ।

सरकारको १२५ बुँदे कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण जस्ता विषयलाई समेटिएको छ । पर्यटन प्रबर्द्धन गर्न तोकिएका गन्तव्यको भौतिक पूर्वाधार विकासदेखि विराटनगर र भद्रपुर विमानस्थललाई आधार बनाएर प्रदेश गन्तव्यका क्षेत्रसम्म हवाई पहुँच गराइने उल्लेख छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगीस्थित आदिवासी जनजाति रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गरिने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।