यथास्थितिमा बजेट पास हुन्न : उपेन्द्र यादव



काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् । उनले गठबन्धनका दलहरुसँग छलफल नगरी बजेट ल्याएकाले बजेट सुधार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न ।’

उनले बाबुराम भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको बताए । उनले भने,’बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले मोर्चामा नहुनु ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’


अध्यक्ष यादवले समाजवादी मोर्चामा रहेका चार दलबीच पार्टी एकता नहुने बताए । उनले समाजवादी मोर्चामा आवद्ध रहेका दलहरु एउटै पार्टीको रुपमा नरहेकाले यसलाई मिल्ने मुद्दामा सहकार्यको रुपमा मात्र बुझ्नुपर्ने बताए ।

उनले भने,’मोर्चामा आवद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्दैन । एउटै पार्टी बन्ने अनुमान गलत छ ।’ उनले मोर्चामा आवद्ध एक दलले अर्को दलसँग भने एकता गर्ने सक्ने बताए । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।