मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना  गर्नेतिर भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौं विश्वविद्यालय सभाको ९७औं बैठकलाई सम्बोधन गर्दै उनले सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्ने बताए । उनले काठमाडौं विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।


प्रधानमन्त्री दाहालले उत्पादित जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनका लागि सरकारलाई सहयोग गर्ने जिम्मेवारी विश्वविद्यालयको रहेको बताए । उनले हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परेको दाबी गरे । 

उनले भने, ‘जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरू हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरूप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’