काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । एमाले प्रचार विभागले आज पार्टी मुख्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए ।
नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ छ । उनले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताए ।
“नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि केहीले सांस्कृतिक अतिवादलाई प्रवद्र्धन गर्ने, कहिले लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्”, उनले भने ।
उनले बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएरमात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भनाइ राखे । उनले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गरे ।
महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्नका लागि सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गरे । उनले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पारे ।