बाढीपहिरोबाट सिन्धुलीका ३१ घरमा क्षति



कमलामाई । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । 

आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिरोबाट पशुचौपाया र कुखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।


‘बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने– ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।’