नयाँदिल्ली। नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच रहिआएको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समक्षकी नरेन्द्र मोदीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा बिहीबार भएको द्विपक्षीय भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय वार्तामा मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रको समीक्षा भएको हो ।
समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ ।
सो अवसरमा दुई प्रधानमन्त्रीले संयुक्तरूपमा विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास गरेका थिए । रेलमार्गको कुर्था–बिजलापुर खण्ड हस्तान्तरण, बथनहा–विराटनगर कार्गो रेल, भैरहवा–सुनौली एकीकृत जाँच चौकीको शिलान्यास, नेपालगञ्ज–रुपैडिया एकीकृत जाँच चौकीको उद्घाटन, दोस्रो चरणको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास एवं ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको शिलान्यास गरेका हुन्।
त्यसैगरी दुई प्रधानमन्त्रीको उपस्थितिमा आदानप्रदान सम्झौताहरु भएका छन् । नेपाल र भारतबीचको पारवहन सन्धि, दोधरा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माण गर्ने समझदारी, पेट्रोलियम पूर्वाधार निर्माण गर्ने समझदारी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज वैदेशिक सेवा संस्थानबीच समझदारी, ४५० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी समझदारी, ६६९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता र अन्तरदेशीय भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कम्पनीबीच समझदारी भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच थप हवाई रुट सञ्चालनका लागि नेपालले गरेको आग्रहका विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहालले भारतको हवाई प्रवेश मार्गको सकारात्मक जवाफको स्वागत गरेका छन् ।
नेपाललाई महेन्द्रनगरबाट द्विपक्षीय उडानहरू र थप हवाई प्रवेश मार्गको स्वीकृति प्राप्त भएको छ । उनले अन्तर्राष्ट्रिय अवतरण प्रणाली (आइएलएस) प्रक्रियालाई सञ्चालन गर्न भारतको सकारात्मक प्रतिक्रियाका लागि पनि आग्रह गरेका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र उडान विस्तारका लागि सुरक्षा र दक्षताका लागि पनि प्रधानमन्त्री दाहालले भारतसँग आग्रह गरेका थिए।
दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताले विद्युत् व्यापारको प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै यसलाई थप अनुमानयोग्य बनाउने विषयमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । त्यसैगरी भारतका प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा नेपालबाट भारतमा हुने जलविद्युत् आयातको मात्रा १० हजार मेगावाट पुर्याउने भारतको लक्ष्य रहेको बताएका छन्।
नेपालका प्रधानमन्त्री दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ४५६ मेगावाटसहित थप १२ सय मेगावाट जलविद्युत्को निर्यातको स्वीकृतिका लागि भारतका प्रधानमन्त्री नरेन्द्रलाई आग्रह गरेका थिए।
भ्रमणका क्रममा नेपालबाट भारतीय ग्रिडमार्फत बङ्गलादेशसम्म ४० मेगावाट विद्युत् विद्युत् कारोवारलाई सहजीकरण गर्ने भारतको निर्णयको प्रधानमन्त्री दाहालले स्वागत गरेका छन्। विद्युत् निर्यात ऊर्जा क्षेत्रलगायत उपक्षेत्रीय तहमा बृहत् सहयोगका लागि दुवै पक्ष प्रतिबद्ध छन् ।
नेपालका प्रधानमन्त्री दाहालले चौथो लाइन अफ क्रेडिट (एलओसी–आइभी) अन्तर्गत प्रस्तावित प्रसारण लाइन परियोजनाहरूको स्वीकृतिका लागि भारत सरकारलाई धन्यावाद व्यक्त गरे।
दुवै प्रधानमन्त्रीले नेपाल–भारत सीमा नाका क्षेत्रमा हुने बाढी र डुबानको समस्याबारे पनि छलफल गर्दै विद्यमान द्विपक्षीय संयन्त्रलाई मनसुन सुरु हुनुअघि नै बाढी र डुबानको प्रभावकारी रोकथामका लागि आवश्यक उपायहरू अवलम्बन गर्ने निर्देशन दिएका छन्।
महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना (पीएमपी) नेपाल र भारतका जनताको आकांक्षाअनुरूप भएको बताउँदै दुवै प्रधानमन्त्रीले यस सन्दर्भमा दुवै सरकारका सम्बन्धित अधिकारीहरूले तीन महिनाभित्र पीएमपीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई छिट्टै अन्तिम रूप दिन द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको गरेका छन्।
पञ्चेश्वर विकास प्राधिकरण (पिडीए)ले अन्तिम डिपीआर दुवै सरकारलाई बुझाउने छ भने दुई सरकारका सम्बन्धित निकार्यहरूले पीएमपीका लागि वित्त व्यवस्था गर्नेछन् । दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि कार्यान्वयनको मोडालिटी एक वर्षभित्र टुङ्ग्याउनेछ ।
उनीहरुले टनकपुर लिंक नहर निर्माणको स्वागत गर्दै नेपाली पक्षको सुविधाको तत्परताका आधारमा यस नहरबाट टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ कमाण्ड एरियामा चरणबद्ध रूपमा पानी छोड्ने सहमति गरेका थिए ।
दुई देशका प्रधानमन्त्रीले दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए। नेपालले सामना गरिरहेको व्यापार घाटालाई प्रधानमन्त्री दाहालले नेपालको कृषि तथा प्राथमिक उत्पादनको भारतीय बजारमा पारस्परिक पहुँचका लागि अनुरोध गरेका थिए ।
दुवै देशका प्रधानमन्त्रीले व्यापार सन्धिको पुनरावलोकनसहित व्यापारका समस्या समाधानका लागि वाणिज्य सचिवस्तरीय संयन्त्रलाई चाँडो बोलाउन निर्देशन दिएका छन्।
दुवै देशका नेताले परीक्षण प्रयोगशालाको स्वीकृतिसम्बन्धी एमओयूलाई छिट्टै टुङ्गोमा पुर्याउन सम्बन्धित अधिकारीलाई सर्टिफिकेटको पारस्परिक मान्यता निर्देशन दिएका छन् । नेपालका प्रधानमन्त्री दाहालले नेपाली जुट उत्पादनमा काउन्टरभेलिङ शुल्क हटाउन आग्रह गरेका छन्।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र भारतको अनुदान सहयोगमा सिलिगुडीदेखि झापासम्म पाइपलाइन नयाँ क्रसबोर्डर पेट्रोलियम निर्माणका लागि दुवै पक्षबीच सहमति भएको छ ।
भ्रमणका क्रममा नेपाल भन्सार यार्डको वथनाहादेखि विराटनगरसम्मको कार्गो रेल सेवालाई दुवै प्रधानमन्त्रीले झण्डा देखाएर शुभारम्भ गरेका छन्। नेपालका प्रधानमन्त्री दाहालले भारतीय अनुदान सहयोगमा जयनगर–कुर्थादेखि बिजलपुरासम्मको यात्रुवाहक रेल सेवा विस्तारलगायत सीमापार रेलमार्ग निर्माण गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल–भारत रेलमार्गहरू दिगो सञ्चालनका लागि नेपाली रेलवे कर्मचारीहरूको तालिम र क्षमता अभिवृद्धि गर्ने भारतको प्रस्तावलाई प्रधानमन्त्री दाहालले स्वागत गरे ।
प्रधानमन्त्री दाहालले जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काममा तीव्रता दिन, सुदूरपश्चिम प्रदेशमा प्राविधिक इन्स्टिच्युट स्थापना गर्न र धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि भारतको अनुदान सहयोगका लागि अनुरोध गरेका छन्।
त्यसैगरी भारतीय पक्ष महाकाली नदीको सिरसा (परशुरामधाम–पूर्णागिरि माई) र झुलाघाटमा दुई वटा मोटरेबल पुल अनुदान सहयोगमा निर्माण गर्न सहमत भएको छ । दुवै मुलुकका प्रधानमन्त्री अनुसन्धान र विकास, क्षमता निर्माण, प्राकृतिक खेती र उपयोगसहित कृषि क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।
प्रधानमन्त्री दाहालले उन्नत जातका पशुहरू उपहार प्रदान गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विशेषगरेर उखु र कफी बालीका लागि जर्मप्लाज्मका लागि अनुरोध गरेका छन्।
गत फेब्रुअरीमा भारतबाट नेपाललाई युरिया र डिएपी आपूर्ति गर्नेबारे भएको सहमतिप्रति दुवै प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् । दुवै मुलुकका बजारलाई पर्याप्त मात्रामा आश्वस्त पार्दै नेपाल र भारतका किसानलाई मलको आवश्यकता पूरा गर्न दुवै मुलुकका सार्वजनिक र निजी क्षेत्रका निकायहरुको साझेदारीमा नेपालमै मल कारखाना स्थापना गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् ।
त्यस्तो मल कारखानाको सम्भाव्यता पत्ता लगाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
दुई प्रधानमन्त्रीबीच सीमा विवादका विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री मोदीलाई द्विपक्षीय कूटनीतिक संयन्त्र स्थापना गरेर सीमा विवाद समाधान गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री दाहालले जी–२० र साङ्घाई कोअपरेसन अर्गनाइजेसनको अध्यक्षता गरेकामा भारतको प्रशंसा गरेका छन्। उनले निकट भविष्यमा नेपालको भ्रमण गर्न दिएको निमन्त्रणालाई भारतीय प्रधानमन्त्री मोदीले हार्दिकताका साथ स्वीकार गरेका छन्।