प्रधानन्यायाधीश नियुक्ति अगावै हरिकृष्ण कार्कीलाई अवकाशको पत्र !



काठमाडौं । न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको मितिकाबारेमा जानकारी गराएको छ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीलाई परिषदले आइतबार पत्रमार्फत अनिवार्य अवकाशको मितिकाबारेमा जानकारी गराएको हो ।

परिषद्बाट कार्कीलाई लेखिएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि उनी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ । गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । अब उजुरीमाथिको सुनुवाइ सुरु हुने छ ।


उजुरीउपर छानबिनका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न नपाउँदै कार्कीलाई परिषदले अवकाशको मिति सम्झाइदिएको हो । कानूनतः अवकाशको एक महिना अघिदेखिनै प्रधानन्यायाधीशले इजलासमा बस्न पाउँदैनन् । उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।