काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको गए राति वीर अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
स्व लामाको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि बौद्धको तीनचुलेस्थित ह्याल्मो गुम्बामा राखिने र भोलि बिहान ११ः०० बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौँको जोरपाटीस्थित जम्बोडाँडामा अन्त्येष्टी गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
विसं २०१६ असोजमा जन्मिएका लामा ब्लड क्यान्सरबाट पीडित भएका र केही समयअघि थाइल्यान्डमा उपचार गराएर नेपाल फर्किएका थिए । स्व लामाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
लामाको निधनले कांग्रेसले एक होनाहार सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।