पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित



पर्वत । सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ ।

चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटभरि भुलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ पर्वतको सहायतामा चैते धानखेती विस्तार गरिएको हो ।


हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने पाङ खरीबोट फाँटमा यस वर्षदेखि चैते धानखेती गरिएको स्थानीय कृषक सूर्यप्रसाद पौडेलले बताए । विगतमा पुर्खाहरूले गर्दै आएको खेती नयाँ पुस्तामा जगाउन नसकिएको समयमा धान जोनले अनुसन्धान थालेपछि खेती विस्तारमा किसान हौसिएका हुन् । खरीबोट कृषक समूहका अध्यक्ष सूर्यप्रसाद पौडेलले चैते धान अहिले तीन सय रोपनी क्षेत्रफलमा लगाइएको बताए ।

खरिबोटका ३० किसानको सामूहिक खेतीअन्तर्गत चैते धानखेती गरिएको हो । प्रतिकिसान रु ५० हजारदेखि रु एक लाखसम्म कमाउन सक्ने गरी खेती विस्तार गरिएको किसानले बताएका छन् । किसानको घरमा मङ्सिरको धान पनि सकिने र पराल पनि सकिएको अवस्थामा चैते धानले मानिसका लागि अन्न र पशु चौपायालाई खुवाउन परालसमेत उपलब्ध हुने हुँदा पुर्खाले रोप्दै आएको धान आफूहरूले पनि लगाउँदै आएको स्थानीय रत्न पौडेलले बताए । रैथाने चैते धान कम फल्न थालेपछि रामपुर कृषि क्याम्पसले समेत फाँटमा नयाँ प्रजातिको चैते धानमा अनुसन्धान थालेको छ ।

विभिन्न १० प्रजातिमा अहिले उक्त फाँटमा अनुसन्धान भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइले जनाएको छ । गत चैतमा रोपेको धान थन्क्याएपछि असार अन्तिम साता पुनः पोख्रेली जेठो बूढो धान लगाउने तयारीमा किसान रहेका हुन् ।

चैते धान खानमा उपयोग हुने भएकाले जेठो बुढोको मुल बीउ उत्पादन गर्ने गरी समूहका किसानहरू तयारीमा रहेका छन् । विगतमा जिल्लाका अर्मादी फाँट, फर्से, धाइरिङ फाँट, पातीखोला खेत, लमाएखोला खेतमा र हुवास गेडीखोला खेतमा लगाइने चैते धान पछिल्ला वर्षमा हराउँदै जान थालेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे धानखेती हुँदै आएको छ भने दुई हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ । बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि खाद्यान्न आयात प्रतिस्थापनको लक्ष्य विफल भएको ज्ञान केन्द्रले जनाएको छ । जनशक्तिको अभाव, बाँदर आतङ्कलगायतका कारणले अहिले चैतेधानप्रति अन्य क्षेत्रका कृषकको आकर्षण भने घट्दो छ ।