पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो ।


प्रहरीले मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवेु’ पवन खतिवडा ‘म्याकुरी’, राजु पौडेल ‘राजु मास्टर’, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा ‘जिडी’, सरोज घिमिरे ‘ढेडु बुढो’ र बेगम नेपाली ‘भटभटे माइला’ लाई अनलाइन सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत १० देखि ४० लाख रुपैंयाँसम्म लिएको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने विज्ञापन गर्दै आएको बताइएको छ । प्रहरीले बुधबार पक्राउ परेको एउटा गिरोहमार्फत ‘वान एक्स बेट’बाट एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो ।