नेदरल्याण्ड्सविरुद्धको अभ्यास खेलमा नेपाल पराजित



काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेका नेपाली टोली शनिवार भएको खेलमा नेदरल्याण्ड्स ५ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुलसन झाले २४ रन र प्रतिश जिसीले १९ रन बनाए। नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्।


ओपनर कुशल भुर्तेल ९, आशिफ शेख र अर्जुन साउदले समान ४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए। नेदरल्याण्ड्सका एल भी भान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटन फ्लोयडले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्यसम्म पुग्यो। डच टोलीका लागि विस्ले बार्रस्सीले सर्वाधिक अविजित ६३ रन बनाए । सक्व जुलिफिक्वर र स्कट एडवार्डले समान २२ रनको योगदान दिए। बलिङतर्फ गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए। यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो।