नारामै सीमित ‘एक घर एक धारा’



देउखुरी । घोराही–१ की शर्मिला बुढाले पानीको जोहो गर्दागर्दै बिहान बित्ने गर्छ । घर नजिकै पानीको सुविधा नभएका कारण पानीका लागि दिनमा एक घण्टाको समय लाग्ने गरेको उनले बताइन् । गाउँले सबैको पानी खाने एउटा मात्र जरुवा छ । चैत, वैशाख र जेठ महिनामा पानीको समस्या धेरै हुने गरेको उनले बताइन् ।  

सुक्खा समयमा पानीको समस्या वर्षाैंदेखि भोग्दै आएको उनको भनाइ छ । स्थानीय सरकारले पानीको व्यवस्था गर्ने हो भने आफ्ना दुःख कम हुने आशा उनलाई छ । ग्रामीण क्षेत्रका बस्तीमा परम्परागत रूपमा प्रयोग हुँदै आएका इनार, ह्यान्डपम्पबाट पानी उपलब्ध हुने भए पनि सुक्खा ठाउँमा जरुवा, खोल्सा, खोलाको पानी पिउनुपर्ने बाध्यता छ । केही स्थानमा मुहान संरक्षण गरेर पानीको व्यवस्था गरेका स्थानीयवासी भरपर्दो रूपमा बाह्रै महिना खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।


घोराही–१९ की कल्पना भण्डारीलाई पानीका लागि बिहान बिताउनुपर्ने बाध्यता छ । नजिकमा भएका इनार सुकेपछि उनलाई एक घण्टा हिँडेर पानी जोहो गर्नुपरेको छ । पहाडी क्षेत्रमा पनि अझै सहज रूपमा पिउने पानीको व्यवस्था हुन सकेको छैन । हिउँद र गर्मी मौसममा यस क्षेत्रमा बासिन्दा खोल्साको जमेको पानी सङ्कलन गरेर जीविकोपार्जन गर्न बाध्य हुन्छन् । आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी खानु उनीहरूको बाध्यता छ ।

सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आए पनि पूर्णता पाउन चुनौती देखिएको छ । दाङका १० पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानीको व्यवस्था गरिए पनि यो पर्याप्त हुन सकेको छैन । 

घोराही उपमहानगरपालिकाका केही वडामा अझै पनि खानेपानी विस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बर १, २, ५, ११, १२, १९ का बस्तीमा अझै सहज रूपमा खानेपानी विस्तार हुन सकेको छैन । तुलसीपुरका केही वडावासी पनि खानेपानी कै लागि तड्पिनु पर्ने अवस्था छ । लमही नगरपालिकाको वडा नम्बर ८, ९ का केही बस्तीमा पनि सहज रूपमा खानेपानीको उपलब्ध हुन सकेको छैन । स्रोतको पानी प्रयोग गर्दै आएका स्थानीयवासीलाई हिउँद र गर्मी मौसममा पानीका लागि दुःख झेल्नुपर्छ । दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवार छन् । तीमध्ये धेरै जसो परिवार खानेपानीको जोहो गर्नमै समय बिताउने गर्छन् भने पानी उपलब्ध हुने ठाउँमा पनि सुरक्षित पानी पाउन मुस्किल देखिन्छ ।

नागरिकले वर्षौंदेखि पानीका लागि सङ्घर्ष गरिरहँदा राज्यले यो क्षेत्रमा लगानी  गरेको जस्तो गरे पनि उपलब्धि न्यून देखिएको छ । खासगरी, गर्मीको समयमा खोला र कुवा सुकेर काकाकुल बन्दै गर्दासमेत खानेपानीका सरकारी योजना पर्न सकेका छैनन् । परेका योजना पनि वर्षौंसम्म अधुरा छन् । 

राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कले पनि देखाएको छ । जिल्लामा ६५ हजार चार सय ८० परिवारले डिप बोरिङको र २५ हजार छ सय १८ ले कुवा, जरुवाको पानी खाने गरेको तथ्याङ्क छ । बाँकी परिवार ह्यान्डपम्प, जरुवा र खोलाकै भरमा आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी पिउन बाध्य छन् । 

खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी योजनाअन्तर्गत डिप बोरिङ तथा खोला, जरुवाको पानीमा कीटनाशक औषधि प्रयोग गर्ने गरेको जानकारी दिए । सतहको पानी प्रयोग हुने ह्यान्डपम्प र कुवाको पानी जमिनको माथिल्लो तहबाटै आउने भएकाले आर्सेनिक र खोलाको पानीमा शुद्धता हुन नसक्ने उनको दाबी छ  ।

बजेट अभावमा थलिएका र कामै सुरु नभएका खानेपानी आयोजना जिल्लामा एक सय ४२ वटा रहेको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकामा सरकारले अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेको कार्यालय प्रमुख थापाले जानकारी दिए । यसबाट जिल्लाका धेरै जसो स्थानमा सहज खानेपानीको पहुँच पुर्याउने लक्ष्यमा धक्का लागेको उनको भनाइ छ ।

खानेपानी डिभिजन कार्यालय दाङको तथ्याङ्कमा दाङमा अझै पनि ट्युबवेल र ह्यान्डपम्पबाट पानी खाने परिवार १९ हजार छ सय ८१ छन् । कुवाको पानीमा आश्रित परिवार ४२ हजार चार सय ३६ छन् । नछोपेको खुला कुवाको पानी खाने परिवार १६ हजार छ सय १० छन् । चार हजार छ सय ७१ परिवार त थोपा पानीको भरमा छन् । नदी र खोलाको भरमा दुई हजार पाँच सय ६६ परिवार छन् ।

दाङमा जार र बोतलको पानी खाने परिवार पाँच सय चार मात्रै छन् भने अन्य स्रोतबाट पानी खाने एक हजार दुई सय १० परिवार छन् ।