काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् । सरकारी वकिल र जाहेरवालाको तर्फबाट मंगलबार बहस सकिएसँगै अभियुक्तहरूतर्फको आज बहस हुन लागेको हो ।
गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ ।
न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।
न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोकेका छन् । आगामी बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत नेउपानेले जवाफी बहस गर्ने छन् । सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुने छ ।
थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्ने छ ।