धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा



धनुषा । धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे । सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए ।

उनले प्रदेशका आठ वटै जिल्ला अस्पतालका समस्या समाधान र सार्वजनिक स्वास्थ्यमा नागरिकको विश्वास जागृत गर्ने गरी सेवाप्रवाहमा सुधार वर्तमान सरकारको प्राथमिक विषय भएको बताए । ‘मधेस प्रदेश स्वास्थ्य क्षेत्रमा पनि पछाडि परेको छ । सबैको सहकार्य भए यस क्षेत्रका समस्या समाधान गर्न सकिन्छ’, मन्त्री सिंहले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा यी समस्याहरु सम्बोधनको प्रयास हुनेछ ।’ विशेष गरी महिलामा पाठेघरको क्यान्सर र बालबालिका लक्षित विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ ।


जिल्ला तथा पालिकास्तरीय अस्पतालमा स्वास्थ्य उपकरणसहितको सेवाप्रवाहमा सरकारको जोड रहने उनको भनाइ छ । उनले नागरिक नजिक रहेका स्वास्थ्य संस्थाको व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव, नगराइनका नगरप्रमुख विनयकुमार यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतले आफ्ना भनाइ राखे ।

नगराइनका प्रमुख प्रशासकीय अधिकृत रामगुलामलाल कर्णले नगरक्षेत्रमा रहेका पाँच वर्ष मुनीका सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको जानकारी दिए । अठार पालिका रहेको धनुषामा नगराइनसहित दश वटा पालिका खोपयुक्त घोषणा गरिएका छन् । यसअघि जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनौजी र औरही गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिएको थियो ।