काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आव्हान् गरेका छन् ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।
‘हाम्रो पार्टी २००७ सालदेखि लडदै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ,’ देउवाले भने, ‘त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ ।’
साथै सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको पनि बताए । ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पु¥याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु,’ उनले भने, ‘यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ ।’
पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत उनले बताए । ‘अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरु उठेका छन साथीहरू । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन् ।’, उनले भने, ‘तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ ।’ सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।