काठमाडौँँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।
आइतबार काठमाडौंमा केशवप्रसाद वडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकै कारण अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् ।
सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेदविरुद्ध भएकैले २०४६ सालमा तानाशाही राजतन्त्रविरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो ।
ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गरे । अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्वीकार्नुपर्ने बताए ।
२००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाँबाट कहाँबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहीँ न कहीँबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हविगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको टिप्पणी गरे ।