जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयको विरोध गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् ।

उनले सरकारको निर्णयले जनताको मताधिकारलाई अप्ठ्यारो पार्ने बताए । उनले भने ‘यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सिडिओ कार्यालयमाथि राख्नु राजनीतिक कुचेष्टा हो । ‘स्वतन्त्र रूपमा जन्मिएका राष्ट्रिय पार्टीहरूलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षडयन्त्र पूर्वक खेल रचेको छ भन्ने हाम्रो ठम्याइ छ । यो निर्णय खारेज गर्नुहोस् अन्यथा तपाईँ र तपाईँको प्रस्तावलाई खारेज गर्नुपर्नेछ।’