गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम ठप्प, आठ जना बन्दकर्ता पक्राउ



धनगढी । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ ।

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सङ्घर्ष समितिले हडताल गरेको हो । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।


प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो ।

आम हडतालका कारण लामो दूरीका गाडी चलेका ठप्प छन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।

कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् । पहाडी जिल्लामा भने आमहडतालको असर कम परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।