गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ



काठमाडौँ । नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहीन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन् ।

उनले बैठकमा बोल्दै भने ‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिँदैन र यसमा समर्थन समेत जनाउन सकिँदैन । यो बजेट दुई सरकारले ल्याएकोजस्तो देखिएको छ ।’


सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने धारणा राखे । राष्ट्रपतिले वाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदूरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै उनले यसबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पाँच अर्बको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छाडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

सांसद तामाङले कञ्चनपुरमा वर्षौँदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको र बजेटमा यसबारे कुनै विषय उल्लेख नभएको आरोप लगाए ।