कैलालीको कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी



टीकापुर । कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । ठूलो आगो नियन्त्रणमा आइसकेको र रुखमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकी गाउँपालिकाले जनाएको छ । आगलागीका कारण ठूला साल तथा सिसमका रुख जलेकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ ।

पालिकाले आगलागी बस्तीमा फैलन सक्ने जोखिम बढेकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन अपिल गरेको छ । “रुखका टुप्पामा आगो दन्किरहेको छ । हावा चलेमा यो आगो बस्तीमा फैलन सक्ने जोखिम छ”, पालिकाका विपद् व्यवस्थापन शाखा सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले भने”, वनसँग नजिक भएका बस्ती विजयनगर, लायकपुर, जगतपुरका स्थानीयवासीलाई सचेत रहन भनेका छौँ । रुखका टुप्पासम्म निभाउन कठिन भएको छ ।”


आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, गाउँपालिकाको स्काभेटर, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि खटेका छन् ।