‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने उद्देश्य छ’



काठमाडौं। सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञ शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने उद्देश्यका साथ देशविदेशमा बस्ने सम्पूर्ण नेपालीलाई समावेश गरी तीनै तहका सरकारको सहभागितामा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नाराका साथ राष्ट्रिय सरसफाइ अभियान यसै वर्षदेखि सुरु गर्ने बताए।


उनले भने, “अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग एवम् कार्यालयहरूले निर्माण गरेका जनस्वास्थ्य र सरसफाइसम्बन्धी नीति, नियम एवम् निर्देशिका आगामी साउन १ गतेदेखि थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको छ ।”

विज्ञ शर्माले विश्व मजदुर दिवसको दिन केही महत्वपूर्ण निर्णयहरूसमेत भएको जानकारी गराए। यसै वर्षदेखि लागू हुने गरी राष्ट्रका उच्च तहबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तीमा दुई प्रतिशत मजदुरलाई समावेश गर्ने नीति सरकारले लिएको उनको भनाइ छ ।

विज्ञ शर्माले सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा, सर्त र सुविधा निश्चित तथा वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा खटिने सम्पूर्ण मजदुरलाई दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र संस्थाले अनिवार्यरूपमा आफ्ना मजदुरलाई पेसागत तालिम, आधुनिक सामग्री र सुरक्षासहितको उचित पोसाकको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्ष २०८०÷८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य रूपमा लागू गर्न पहल गरिने उनले बताए। विज्ञ शर्माले समग्र सरसफाइकर्मीले भोग्दै आएका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सरसफाइकर्मीको सहयोगबिना असम्भव भएको उल्लेख गर्दै उनले सरकारले सरसफाइलाई बजेटमा समेत प्राथमिकता दिएको बताए ।

७९ कम्पनीको छाता सङ्गठन फोहरमैला व्यवस्थापन सङ्घ नेपालले हाल तीन हजारभन्दा बढी सरसफाइकर्मीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ । सङ्घले काठमाडौँ महानगरको ७९ र काठमाडौँ उपत्यकाको ९० प्रतिशत फोहरमैला व्यवस्थापन गर्दै आएको छ ।

चार सय ५० भन्दा बढी ढुवानीका साधनको प्रयोग गर्दै करिब चार सय किलोमिटर सडकको सफाइ, करिब चार लाख घर÷निकाय, प्रतिष्ठानलगायतलाई सेवा पुर्‍याउँदै आएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आज प्रभातफेरीको आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले तय गरेको यो दिवसलाई सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।