कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि साटफेर गर्ने अभिव्यक्ति कहिँकतै नदिएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेसहित तीन दलले संसदमा प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले नेपाली भूमि कालापानी र लिम्पियाधुरालाई कतै साटफेर गर्ने विषयमा नबोलेको प्रष्टीकरण दिएका हुन् ।


‘कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन,’ उनले भने, ‘हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु । मैले कहिँकतै नेपालको भूमि साटफेर गर्ने प्रस्ताव गरेको छैन ।’

साथै उनले आफुले सीमा समस्या समाधान गर्न विज्ञहरुले ‘बंगलादेशी मोडल अपनाउन सकिन्छ’ भनेर सुझाव दिएको कुरा माेदीसमक्ष राखेको बताए । उनले भने, ‘केही बुद्धिजीवीहरुले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाउन सकिन्छ भनेका हुन् । उनीहरुले बंगलादेश जाने बाटो पाउन सके कालापनी साट्न सकिन्छ भनेका हुन् । मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ।’