काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले पार्टी र ट्रेड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताए।
‘पार्टीको विधानमा मजदुरसम्बन्धी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै पार्टीमा मजदुरलाई प्रतिनिधित्व गर्न कांग्रेस लाग्छ’, उनले भने । महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाएको बताए। ‘मजदुरको तागतले कांग्रेस बलियो बन्छ, कांग्रेस बदलिए देश बदलिन्छ’, महामन्त्री थापाले भने । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उनको भनाइ छ ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताए । उनले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पारे ।
ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । उनले श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘यो देश बन्छ, बनाउन सकिन्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ’, उनले भने । महामन्त्री शर्माले श्रमिकको मुद्दा समाधान गर्न कांग्रेस नेतृत्व सधैँ तयार रहेको स्पष्ट पारे ।