करको दर हेरफेरमा घुसपैठ भएको छैन, पारदर्शी रुपमै गरिएको छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए । 


आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरू पछि लागेका छन् । भएको यही हो ।’

‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन’ महतले भने ‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’

सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगर्न र सरकारका गतिविधिलाई विश्वास गर्न उनले आग्रह गरे । ‘इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन,’ उनले भने, ‘हामी कसम खाएर काम गर्न बसेलाई असत्य मान्न भएन ।’

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए ।