आजकाे मौसम : पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको ‍एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विशेष गरी मध्य तथा पूर्वी तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू–भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी तथा मधेश प्रदेशका तराईका एक–दुई स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जनसहित वर्षा र चट्याङ्ग तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।