काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
लक्ष्य अनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदान समेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले नागरिकता विधेयकलाई पनि संसद्मा नल्याई सिधै प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिए ।
बैठकले निष्कृय र प्रभावहीन रहेका र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरूलाई तत्कालै भूगोल केन्द्रित जिम्मेवारीमा पठाउने निर्णय अनुसार कार्यविभाजन गर्ने काम ७ दिन भित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताए ।
बैठकले राप्रपाका मुद्दा स्थापित गर्नका लागि र जनजिविकाका विषयमा सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।