आईसीसी विश्वकप छनोट : पूरा हुन सकेन नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटबाट नेपाल बाहिरिएको छ । समूह चरणअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटको फराकिलो हारसँगै नेपाल बाहिरिएको हो ।

जिम्बाब्वेमा भएको खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । नेदरल्यान्ड्सका म्याक्स ओ दाउद ९० रन बनाएर आउट भए । ७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर विक्रमजित सिंहले ३० रन बनाए भने बास डि लिडले ४१ रन बनाएर टोलीलाई जित दिलाए । नेपालका सन्दीप लामिछानेले २ तथा गुल्शन झाले एक विकेट लिए ।


यसअघि टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएका थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए ।

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २र२ विकेट लिए ।

हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ । समूह ए मा रहेको नेपालले ४ खेलमा ३ हार र एक जित सहित २ अंक मात्र जोड्न सफल भयो । समूह ए बाट वेष्ट ईण्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । नेपालले अब ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ ।