‘अखण्ड भारत’को नक्साबारे भारतीयपक्षसँग छलफल गर्न नेपाली दूतावासलाई निर्देशन



काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको बिषयमा भारतीयपक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस बिषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसंग छलफल गरि रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका हुन्।


नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त बिषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए।

उनले नेपालको नक्साका बारेमा आफूहरु स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने बिषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने बताए।

त्यस्तै मन्त्री साउदले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने बिषयमा सरकारका तर्फबाट दवाव दिन नमिल्ने तर्क गरे।

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको र नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने गरि सहमति र सम्झौता भएको दावी गरे।