काभ्रे । काभ्रेको बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपा र लागूऔषध नियन्त्रण ब्युरो सहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।
बिहीवार राति ८ बजे उनीहरूबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवैलाई शुक्रवार जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
घटनाले काभ्रेमा ७ महिनापछि लागूऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ । प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका ४ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागूऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज ५ थान तथा नगद ४३ हजार बरामद गरिएको थियो । त्यसयता लागूऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन् ।
प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाय दिलाउने गरेको छ । प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो । मकैले नियन्त्रित औषधि विना ‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधि समेत बरामद गरेको हो ।
प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो संख्यामा ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिस विना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो । त्यसरी बिक्री गरिएका औषधि ‘लागूऔषध’को रूपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न ५ जनालाई २०७९ साउनमा पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागूऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागूऔषध बरामद गरेको थियो ।
त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोक अन्तर्गत समेत पर्ने बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागूऔषध काठमाडौं पुर्याउने र काठमाडौंबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ ।
यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता ४ चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिस विना प्रतिबन्धित औषधि (नसालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो ।उनको फार्मेसीबाट विभिन्न प्रकारका ७ हजार १३८ प्रतिबन्धित लागूऔषध ट्याब्लेट समेत बरामद गरिएको थियो ।
घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । बीपी राजमार्गबाट अधिकांश रुपमा लागूऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेपलाञ्चोक लगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ ।
प्रहरीले सुराकीको आधारमा राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौं पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दा समेत चलाउने गरेको छ । प्रहरीको तथ्यांक अनुसार बितेको ५ वर्षमा लागूऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करीब १०० जनालाई पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो ।
प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट विपी राजमार्गहुँदै लागूऔषध तस्करी भई लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रे बनाएको समेत देखिन्छ ।
पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले बताए । उनका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागूऔषध संकलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौंमा बिक्री गर्दै आएको देखिन्छ । लागूऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ ।