काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २–० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे । खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को जित दिलाए ।
यस जितसँगै समूह ए बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो ।
नेपाल भने एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ ।