बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुनसक्ने भए पनि मोर्चा नै दलको रूपमा भने नआउने बताए । उनले भने, “समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ, मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरूको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा सहकार्य हुन्छ ।”


अध्यक्ष यादवले यही असार १० गते आफ्नो पार्टीको विधान अधिवेशन सुरु हुने जानकारीसमेत गराए । उनका अनुसार तीन दिनसम्म चल्ने उक्त अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टीको विधान मस्यौदासमेत तयार भइसकेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेकोसमेत बताए । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले बताए ।