जानकी । बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगेकी छिन्। उनले नौ जवानले फुके झैँ नरसिङ्गा फुक्छिन्। लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूले पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताइन्।
वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताइन्। ‘यो त सीप हो। सीपलाई हस्तान्तरण गर्नुपर्छ। गरिएन भने लोप हुँदै जान्छ’, उनले भनिन्, ‘अबको दुई/चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन। नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन्। नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरूलाई पनि सिकाउने गरेको छु।’
संस्कृति संरक्षण समूहअन्तर्गतको पञ्चेबाजा उप–समूहमा आबद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बजाउँछिन्। सानैबाट नाच्ने गाउने रुचि भएकाले आफू समूहमा आबद्ध भएको उनले बताइन। घाँटीमा झुन्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताइन। ‘काम त सजिलो कुन चैँ छ र ? १० किलोको पञ्चेबाजालाई घाँटीमा झुन्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो’ उनले भनिन, ‘महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दश दश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ।’
सोही समूहमा आबद्ध भीमा विष्ट ५४ वर्षकी छिन्। उनले अगुवा बाजा र सानो बाजा बजाउँछिन्। संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोचले अगुवा र सानो बाजा बजाउन थालेको उनले बताइन। ‘म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो’, उनले भनिन, ‘एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ।’
विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रु १० हजार मात्र कमाएको विष्टले बताइन्। समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उनले बताइन।
भू–परिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको संस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए। उनका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आबद्ध छन्। सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन्।
बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिए। उनकाअनुसार समूहमा ३० देखि ६५ वर्षसम्मका महिला आबद्ध छन्।