नेपाल–भारत सम्झौता : सहज इन्धन आपूर्तिका लागि पेट्रोलियम पाइपलाइन बन्ने



नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् । 


रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।