काठमाडाैँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाएको छ।
वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए।
यस्तै दोस्रो विकेट गुल्सन झाले लिए। गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए।
तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई ३२ रनमा बोल्ड गरे। किङले ४२ बलमा २ चौका र २ छक्का हिर्काए। त्यतिबेला वेस्ट इन्डिजले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन जोडेको थियो।