नागरिक विद्येयक प्रमाणीकरण प्रकरण : सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रदर्शन



विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रदर्शन भएको छ ।

नयाँ विधेयकअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । नयाँ कानुनअनुसार झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला प्रशासनहरुले नागरिकता वितरणका लागि तयारी गरिरहेका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो । शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र जारी गरेपछि जिल्ला–जिल्लाबाट नागरिकता वितरण सुरू भएको थियो । तर, आइतबार नै सर्वोच्च अदालतले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो ।