जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई



काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले  भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणको दुरदृष्टि तय गरी आयोगले काम गरिरहेको बताए। 


प्रमुख राईले राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य तथा संस्थागत सुदृढीकरण, निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक विधिमार्फत उद्देश्य प्राप्त गर्ने प्रयास भइरहेको बताए । 

विकास निर्माण तथा आयोजना व्यवस्थापनमा आयोग बाधक नभइ विकास निर्माणको गुणस्तर कायम गर्न सहयोग पु¥याउन क्रियाशील रहेको बताउँदै उहाँले राष्ट्रिय गौरवकालगायतका अन्य आयोजना समयमै गुणस्तरीयरुपमा पूरा गर्न सहयोगी हुने गरी अनुसन्धान गरिने प्रतिबद्धता जनाए ।

सार्वजनिक जग्गा अतिक्रमण, सरकारी बजेट हिनामिना र राजस्व असुलीमा भ्रष्टाचार गर्ने तथा घुस लिने लगायतका प्रवृत्ति नियन्त्रण गर्न आयोग कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त राईले कसैप्रति पूर्वाग्रह नराखी संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न केन्द्रित रहेको दृढता व्यक्त गरे । उपचारात्मक रणनीति अन्तर्गत उजुरी दर्ता, छानबिन, अनुसन्धान, तहकिकात र अभियोजन तथा  कानुन निर्माण, संशोधनका लागि सुझाव दिँदै आयोगले सम्वद्ध पक्षलाई जिम्मेवार बनाउने निरोधात्मक रणनीतिलाई आत्मसात गरिरहेको छ ।

प्रवर्द्धनात्मक रणनीति  अन्तर्गत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनका लागि निकायगत सहकार्य, समन्वय, छलफल, अन्तरक्रिया र प्रचारप्रसार तथा संस्थागत सुशासन कायम र आयोगको क्षमता वृद्धिका लागि रणनीति अघि बढाएको सो अवसरमा जानकारी दिइयो ।

आयोगले विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अघिल्लो वर्ष नेपाल  ३४ अंकका साथ ११०औँ स्थानमा रहेको तथा  नियामक तथा अनुगमनकारी निकायको प्रभावकारी अभिवृद्धि गर्नु र जिम्मेवारी पन्छाउने र उत्तरदायित्व वहन नगर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याएको छ ।