कोशीमा सरकार र पहिचान पक्षधरबीचको वार्ता स्थगित



विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षबीच आजका लागि तय भएको वार्ता स्थगित भएको छ ।

आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि सोही समय वार्तामा बोलाएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै वार्तामा नबस्ने जानकारी दिएको हो ।


एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वार्ताको वातावरण नभएको बताएको छ ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री तिलककुमार मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।