‘किसानका आँखा आकाशतिर’



जलेश्वर । रामआश्रे मण्डलका आँखा यतिबेला आकाशतिरै तेर्सिएका छन्, कतै कालो बादलका धर्सा देखे भने आज पानी पर्ला कि भन्ने आशामा हौसिन्छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँ बस्ने किसान समयमै वर्ष नहुँदा अहिले धान खेती गर्न पाएका छैनन् । आगामी वर्ष कसरी हातमुख जार्ने भन्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ ।


उनले दुई बिघा जमिनमा धानखेती गरेका छन् । त्यसको उब्जनीले १७ जनाको उनको परिवारलाई वर्ष दिन खान पुग्दछ । तर यसपालि असारको पहिलो सातासम्म पानी नपर्दा समयमै रोपाइँ नहुने हो कि भनने चिन्ताले सताउन थालेको उनले बताए ।

अर्का किसान रामबाबु चौधरीलाई पनि लामो समयदेखिको खडेरीको कारण धान रोपाइँ गर्न भएको समस्याले चिन्तित तुल्याएको छ । पनि कसरी लगाउने भन्ने चिन्तामा आफ्ना पाँच विगाहा खेतमा यसपाली धान डुबेका छन् । गाउँमा धान खेती गर्नेमा अग्रणी किसान उनि अहिले दिनरात यसपाली कसरी धानखेती गर्ने भन्ने चिन्तामा छन् । उनले मात्रै होइन, बजराही गाउँका सबैजसो किसानहरुको चिन्ता समान छ ।

उनीहरुको बेचैनीका कारण खडेरी हो । खडेरीको कारण उनि यसपाली धान खेती गर्न नपाउने भएको भन्दै पीडामा छन् । यसअघिका वर्षहरुमा समयमै पानी परेर मौसमको अवस्था सामान्य हुँदा किसानलाई धान खेती गर्न कुनै समस्या भएको थिएन भने यसपाली लामो समयदेखि जिल्लामा पानी नपर्दा उनीहरु ठूलो सङ्कटमा छन् ।

बढ्दो वन विनाश, नदी खोलाको जथाभावी उत्खनन तथा दोहन र चुरे क्षेत्रको विनाशले तराई मधेसमा वर्षा कम हुने र भएका पानीका स्रोतहरु पनि सुक्दै गएका छन् । लामो समयदेखि पानी नपर्दा खडेरी लागेर यहाँका किसानहरुले अहिलेसम्म बीउ पनि छर्न सकेका छैनन् भने बीउ र ब्याड नहुँदा के रोप्ने र कसरी धान फलाउने चिन्ताले ग्रसित भएका छन् । पानी नपरेकै कारण अधिकांश किसानको खेत पनि अहिलेसम्म बाँझै रहेको छ भने केहीले ट्याक्टर लगाएर जोतेका खेतहरु पनि सुकेर पुनःचट्टान बनिरहेकाले यसपाली बजराहीका किसानमा धानखेती गर्न नसकिने हो कि भन्ने आशङ्का रहेकोछ ।

असारको पहिलो साता बितिरहँदा जिल्लामा आधा रोपाइँ सकिन्थ्यो । यस वर्ष अहिलेसम्म अधिकांश किसानहरुले बीउ पनि राख्न नसकेको कृषि ज्ञानकेन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादव बताए । उनका अनुसार बजराहीमा मात्र नभएर धान खेतीका लागि उर्बर मानिने गौशाला, नगरपालिका, नगरपालिका, नगरपालिका तथा एकडारा, सम्सी, सोनमा र बलवा नगरपालिकाका किसानको पनि समस्या उस्तै छ ।

लामो समयदेखि पानी पर्ने आशामा रहेका गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले खडेरीका कारण आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताए ।

स्थानीय हजारी साहले आफूले यसपाली धानखेती गर्ने सबै खेत पहिलेदेखि नै खनजोत गरी तयार गर्न नसकेको तर एकाध खेत तयार गरेको भए पनि ती खेतमा लगाउने बीउ अहिलेसम्म राख्न नपाएको गुनासो गरे । उनले भने, ‘असारको पहिलो साता हुँदा पनि नराखेको बीऊ कहिले तयार रोप्ने रु यस्तै अवस्था रहे आगामी वर्ष भोकभोकै मरिने पो हो कि भन्ने चिन्ता भएको छ ।’

त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका–४ का किसान बिकाऊ यादवले अघिल्ला वर्षहरुमा प्रशस्त पानी परेका कारण खेतबारीमा विभिन्न प्रजातिका धानका बीउ तयार गरेर लगाउँदै आएकामा यसपाली अहिले पाँच-छ महिनादेखि एक थोपा पानी नपर्दा खेतीपाती हुन नसकेको बताए ।

महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकामा ४४ हेक्टर जग्गामा धान खेती हुने गर्दछ । सामान्यतः किसानहरुले आफ्नो खेत खनजोत गरी तयार गरिसकेर जेठ महिनाको पहिलो र दोस्रो सातामा नै बीऊ छर्किने गर्दथे भने असारको १५ गतेभित्र रोपाइँ हुने गर्दथ्यो । यतिबेला किसानहरु कहिले पानी पर्ला भनेर आकासतिर हेर्दै प्राथना गरेका छन् ।

ज्ञान केन्द्रका प्रमुख डा यादवले जिल्लामा आकाशे पानीको भरमा धान खेती हुँदै आएकाले पर्याप्तमात्रामा पानी नपरे जिल्लामा रोपाई नहुने तर्क राखे । केही स्थानमा स्यालो ट्युबवेल, डिप बोरिङ र कुलो, नहर रहेपनि चार-पाँच प्रतिशत मात्रै खेत सिञ्चित हुने गर्दछ । यहाँका किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसँग जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न र यहाँका धानखेती गर्ने किसानलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।