नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कालीगण्डकी करिडोरमा प्रहरीचौकी स्थापना गरिएको छ । गैँडाकोट–३ ढोडेनीमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।
कालीगण्डकी करिडोरको नवलपुरतर्फको क्षेत्रको सुरक्षा यसअघि गैँडाकोट इलाका प्रहरी कार्यालयले गर्दै आएकामा अब अस्थायी प्रहरीचौकीले सो कार्य गर्ने छ । विगतमा सो क्षेत्रमा प्रहरीचौकी नहुँदा सामान्य दुर्घटनाको सूचना तथा उद्धारमा कठिनाइ हुने गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
गैँडाकोट–३ ढोडेनीस्थित वडा कार्यालय रहेको बहुउद्देश्यीय भवनमा प्रहरीचौकी स्थापना गरिएको हो । प्रहरी सहायक निरीक्षक (असई) नारायण रानाभाटको नेतृत्वमा छ प्रहरी तैनाथ छन् । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कालीगण्डकी करिडोरमा प्रहरीचौकी नभएको गुनासो आएपछि चौकी स्थापना गरिएको बताए ।