काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को अवलोकन भ्रमण गरेका छन् ।
आज साँझ भएको अवलोकन भ्रमणका क्रममा अर्थमन्त्री डा. महतलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली लगायतका पदाधिकारीहरुले कला प्रदर्शनी र प्रदर्शित सिर्जनाका बारेमा जानकारी गराएका थिए ।
सो क्रममा अर्थमन्त्री डा. महतले कला र सिर्जनाले अर्थतन्त्रको विकाससँगै नेपालको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कलालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताउँदै अर्थमन्त्री डा. महतले ललितकलाको विकासका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि जनाए ।
उनले ललितकला तथा हस्तकलालाई आगन्तुक पाहुना लागि कोसेली तथा उपहार दिने परम्पराका रुपमा विकास गर्न जरुरी रहेको औँल्याए । कला प्रदर्शनीबारे उनले भने, ‘एकदम राम्रो काम गर्नुभएको छ, यसरी प्रदर्शनी गर्दा देशैभरिका कला सिर्जनाहरु एक ठाउँमा हेर्न पाइने र यसले मौलिकता चिन्ने तथा संस्कृति आदानप्रदान गर्ने मौका मिलेको छ ।’
उक्त प्रदर्शनीको आज दिउँसो मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सदन किराँतीले पनि अवलोकन भ्रमण गरेका थिए। कला प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको अवलोकनमा अभिरुचि देखिएको छ ।